सबै नेपालीको घरमा बिजुली, भ्रष्टाचारको जरो उखेल्ने अबको योजना : कुलमान

काठमाण्डौ , भदौ २९ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने दावी गरेका छन् ।

प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् ।

उनले देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली र्पुयाउने र खपत बढाउने योजना बनाएको बताए ।


केन्द्रीय प्रसारणको बिजुली पुर्याउने नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार र्पुयाइने उनले जनाकारी गाराए ।


त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताए ।

यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकारणको प्रयोग बढाइने पनि घिसिङले जानकारी दिए ।


यस्तै संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्राधिकरणका सबै कामलाई पारदर्शी बनाउने पनि प्राधिकरणको अबको योजना रहेको उनले जनाकारी गराए ।

३ वर्ष अघि आजैका दिन कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङले झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड नाफामा लगेको जानकारी दिए ।

त्यस्तै ३ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्ब २२ करोडमा झारिएको र ३ वर्ष अघि ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी रहेकोमा अहिले वार्षिक ७३ अर्ब ८६ करोड र्पुयाइएको पनि घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्