प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारी पूरा :निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले सोमबार हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ अन्तर्गतको १ सय ३६ वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो‍।
आयोगको कार्यालय कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान कार्य सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, राजनीतिक दल र सरोकारवालाहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले समयमै मतदान केन्द्रमा प्रवेश गर्न पनि आम मतदातालाई आह्वान गरे। निर्वाचन आयोगले सोमबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ । तोकिएको समय भित्र मतदान गर्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरे।

निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाता परिचय पत्र लिएर जान पनि सबै मतदातालाई आह्वान गरेको छ । कुनै कारणबस मतदाता परिचय पत्र छुटेमा नागरिकता, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचय पत्र वा राहदानी, सवारी चालक अनुमति पत्र वा जग्गा धनी प्रमाण पत्र लिएर पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।

सोमबार प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनका लागि आयोगले सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ। यो चुनाव दलको लागि प्रतिष्ठाको विषय पनि हने ।

प्रतिक्रिया दिनुहोस्