समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखिन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं, भदौ २८। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखिने बताएका छन् ।

उनले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई अब कालो सूचीमा राखेर कारबाहीको दायरामा ल्याउनुको समेत विकल्प नभएको बताए ।

मन्त्री ज्ञवालीले कतिपय व्यवसायीहरुले ठेक्का होल्ड गरेर राख्ने र १० ठाउँमा हात हालेर समयमा काम सम्पन्न नगर्ने कुरा अब सरकारका लागि सह्य नहुने समेत चेतावनी दिए ।

साथै उनले निमार्ण व्यवसायीको लापर्वाहीका कारण कतिपय योजनाहरु अलपत्र परेको टिपण्णी समेत गरे ।

मन्त्री ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्र गुल्मीको क्षेत्र नम्बर १ मा लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनाहरुको शनिबार अनुगमन र निरीक्षण गरेका ह्न । यसै क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले निर्माण व्यवसायीहरुले देशलाई केन्द्रमा राखेर र जनताको हितलाई ध्यानमा राखेर काम गर्नसमेत आग्रह गरे ।

मन्त्री ज्ञवालीले योजनाहरुको काम समयमै सम्पन्न नगर्दा जनताले दुःख पाउनु परेको समेत बताए ।
ज्ञवालीले अलपत्र अवस्थामा रहेका योजनाहरु समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रियाहरु अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिए ।

केही योजनाहरुमा निर्माण व्यवसायीहरुले प्राविधिक कारण देखाएर लामो समयदेखि योजना सम्पन्न नगरिकन आलटाल गर्ने काम भैरहेको भन्दै ज्ञवालीले अब कुनै पनि बहानामा त्यस्ता व्यवसायीहरुलाई छुट नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्