आजबाट पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु

काठमाडौं , भदौ २८ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

आज विक्रम संवत् २०७६ साल भदौ २८ गते शनिबार, ईश्वी संवत २०१९ सेप्टेम्बर १द्ध । नेपाल सम्बत ११३९ यँलाथ्व, पूर्णिमा । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको पूर्णिमा तिथि विहान ८ बजेर ४१ मिनेटसम्म रहनेछ । त्यसपछि आश्विन कृष्णपक्षको प्रतिपदा रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र राति १० बजेर ४७ मिनेटसम्म रहनेछ । आज शूल योग र बालव करण रहेको छ ।

चन्द्रमा कुम्भ राशिमा छन् । आजबाट पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आज बिहान ८ बजेर ४१ मिनेटपछि प्रतिपदा लाग्ने र प्रतिपदा तिथिले अपराह्न आज नै भेट्ने भएकाले प्रतिपदा तिथिको श्राद्ध आज नै गरिन्छ ।

आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसी सम्मको समयलाई पितृपक्ष भनिन्छ । पितृपक्षमा महालयश्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । महालयलाई सोह्रश्राद्ध भन्ने चलन नेपाली परम्परामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्