पाल्पा–बुटवल सडकखण्डमा पहिरो, पुरिएर चालकको मृत्यु, रोल्पामा पहिरोमा पुरिएर आमाछोराको ज्यान गयो, ४ बेपत्ता

काठमाडौं, भदौ २७ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।

यता रोल्पाको थवाङ गाउँपालिका –२ (साविक थवाङ गाविस ७) छेर्लोवाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको आशंका गरिएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अविरल बर्षाका कारण छेर्लाेवाङ पहिरोले घर पुरिँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आर्चायका अनुसार थवाङ गाउँपालिका २ छेर्लाेवाङका २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढामगरको मृत्यु भएको हो ।

त्यस्तै पाहुना बस्न आएका अन्य चारजना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । प्रहरी निरीक्षक आचार्यले रातोपाटीसगँको कुराकानीमा अहिलेसम्म आमा छोराको मात्र शव फेला परेको र अन्य बेपत्ताबारे केही पत्ता नलागेको जानकारी दिए । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।

पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको आचार्यले बताए । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारको लागि जान कठिन छ । बर्षातका कारण सडक अवरुद्ध भएकाले हिँडेर पुग्न एक दिन लाग्ने प्रहरीको भनाई छ ।

स्थानीयबासीले राती करिव २ बजेतिर ठूलो अवाज आएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला पहिरोले घर पुरिसकेको थियो । सो गाउँ एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी खरिबोट रानागाउँ र स्थानीयवासीको सहयोगमा उद्दार कार्य जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्