सरकार विरुद्ध खनिए सत्तापक्षकै सांसद, भने- डेङ्गुको सरोकारमा सरकार किन बोल्दैन , अमेरिकाको सरकारले बोलिसक्यो
काठमाडौं, भदौ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगु रोक्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले डेंगु संक्रमणले मुलुक आक्रान्त तथा आतंकित भए पनि सरकार मौन बसेको आरोप लगाए।
‘प्रधानमन्त्रीज्यू स्वदेश फर्किसक्नुभयो, स्वास्थ्य मन्त्री कता हुनुहुन्छ,’ उनले भने, ‘मुलुक डेंगीले आतंकित छ। संकटकाल घोषणा गर्ने बेला भइसक्यो। सरकार कुम्भकर्णको निन्द्रामा सुतेको छ।’
सदनमा रूलिङ र सत्तापक्ष सांसदले विरोध गरेर मात्रै डेंगी संक्रमण नियन्त्रणमा आउन नसक्ने उनले बताए।
यस्तै नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले सरकार र स्वास्थ्यमन्त्री गम्भीर नभएको भन्दै आक्रोश पोखे । बैठकमा उनले भने, ‘डेङ्गु डेङ्गु भन्दैमा थाकिसकियो । डेङ्गुको सरोकारमा सरकार बोल्दैन । अमेरिकाको सरकारले बोलिदियो । नेपालमा डेङगु आतंक छ नजानु, भएका अमेरिकी नागरिक नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो के हुन्छ सभामुख महोदय ?’
उनले सरकारको मन्त्री डेङ्गु पीडित, आँखाको डाक्टर डेङगु पीडित भएको बताउँदै अब कति सांसदलाई डेङ्गु भएपछि सरकारको ध्यान जान्छ भन्दै सभामुखलाई प्रश्न गरे ।
उनले तत्काल सभामुखले रुलिङ गरेर स्वास्थ्यमन्त्रीलाई संसदमा बोलाएर सरकारको आधिकारिक धारणा प्रस्तुत गर्न लगाउन आग्रह गरे ।
उनले डेङ्गु के हो ? उपचार कसरी गर्ने ? बाँच्ने उपाय के हो ? मरेकालाई के गर्ने ? सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुप¥यो भन्दै नत्र आफूले विरोध गरिरहने बताए । सांसद श्रेष्ठले तत्काल रुलिङ गरेर स्वास्थ्यमन्त्रीलाई संसदमा बोलाउन आग्रह गरे ।
यस्तै नेकपाकै सांसद खगराज अधिकारीले पनि डेङगु रोग हो कि महामारी हो त्यसमा स्पष्ट पार्न माग गरे । उनले महामारी हो भने सम्र्पूण जनप्रतिनिधीहरु, राजनीतिक दलका सदस्यहरु सम्पूर्ण शक्तिका साथ यसको विरुद्ध जनचेतना जगाउन जाने बताए ।
उनले डेङ्गु बिरुद्ध स्वास्थ्य संकटकाल घोषणा गरेर जाने बताए । उनले भने–‘यो रोग प्रकोप हो भने इपिडिमियोलोजी महाशाखा के सुतेर बसेको हो ? स्वास्थ्य मन्त्रालय सुतेर बसेको हो ? जनतामा यो भय र आतंक तुरुन्त रोक्ने काम गर्नुप(यो ।
यस्तै सांसद उमा रेग्मीले डेङगुको प्रकोप देशभरी फैलिएको बताउदै देशभरी नागरिकको ज्यान गइसक्दा, महामारीको रुप लिइरहँदा पनि यो समस्या समाधानका लागि सरकारले ठोस पहल नगरेको बताईन् ।
बर्षै्पिच्छे डेङ्गुको महामारीबाट मान्छेको ज्यान जाने र महामारीको रुपमा फैलिने गर्दा पनि डेङ्गु विरुद्धको खोपको व्यवस्था नगरेको ? सरकारलाई जनताको स्वास्थ्यप्रति कुनै पनि वास्त, चासो र संवेदनशीलता नभएको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्