बन्द रहेको मलेसिया रोजगारी खुल्यो , दुई देशबीच भयो १० बुँदे सहमति

काठमाडौं, भदौ २६ । बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाइ लिएर बन्द भएको थियो ।

१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी अब फेरि सुरु हुने भएको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेको छ।


नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताएका छन् ।

मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए।


हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको घिमिरेले बताए ।
सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको पनि उनले बताए।


‘अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुन्छ।’ सहसचिव घिमिरेले मलेसिया बन्द नगरेको जिकिर गर्दै श्रम सम्झौता अनुरुप नयाँ प्रक्रियाबाट कामदार जाने बाटो खुला भएको बताए।

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ।

साथै अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेछ।

यसअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई भेट्दै मलेसिया रोजगारी खुलाउन अग्रसर हुन आग्रह गर्दै आएका थिए।

सात महिना पहिले मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको थिएन। नेपालले नयाँ स्वास्थय संस्थालाई पन सूचिकरण गरेर स्वास्थ्य परीक्षणको बाटो खुल्ला गर्नु पर्ने बताएको थियो। तर नेपालस्थित मलेसियन दूतावासले पहिलेकै ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै स्वास्थ्य परीक्षण गर्न अनुमति रहेको पत्र पठाएपछि थप अन्यौलता सिर्जना भएको थियो।

नेपालले नयाँ संस्था सूचिकरणको प्रक्रिया अगाडि बढाइरहेका बेला आएको मलेसियाको पत्रले मलेसिया रोजगारीलाई थप पछाडि धकेल्ने संकेत गरेको थियो ।तर राजदूत पाण्डेसँगको भेटमा मलेसियाले चाडैं अन्यौलता हटाउने विषयमा निर्णय लिने बताएको थियो।

मलेसिया गतिरोध अन्त्य भएकोमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’गत वर्षदेखि अवरूद्ध नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।’


मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो। सुरूमा दुइ दिन बस्ने भनेको बैठक निष्कर्षमा नपुग्दा लम्बिएको थियो।

प्रतिक्रिया दिनुहोस्