चीन–अमेरिका द्वन्द्वमा नेपाल, विदेशमन्त्रीको भ्रमणपछि के भयो ?

काठमाडौं , भदौ २६ । चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ ।

विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले हरेक छलफलको अंश आफ्नो वेबसाइटमा राखेको छ । यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन ।

चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको धारणा वेबसाइटमा राखेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा मागेको हो ।

विदेश मन्त्रालयले चिनियाँ भाषामा सबैको धारणा राखेको छ । तर अंग्रेजीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगका दुईपक्षीय छलफलको आधार समेटिएको छ ।

पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको धारणा पनि चिनियाँ भाषामै राखिएको छ ।

बुधबार अबेरसम्म उनीहरूका धारणा वेबसाइटमा संगृहीत छन् । उनीहरूको धारणालाई चिनियाँ भाषाबाट ‘गुगल ट्रान्सलेट’ गर्दा आईपीएसले चिनियाँ सहकार्य रोक्न खोजेको शैलीमा सत्तारूढ दलका अध्यक्ष दाहालको धारणा आएको देखिन्छ । अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्