नेपालको ऋण १० खर्ब ६६ अर्ब पुग्यो

काठमाण्डौ , भदौ २५ । नेपाल सरकारको ऋण १० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
साउन मसान्तसम्म सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी छ भने आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।

साउन महिनामा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको वैदेशिक ऋण लिएको छ ।

सरकारको तिर्न बाँकी ऋण तुलना गर्दा आन्तरिक ऋण ४२ दशमलव ५ र वैदेशिक ऋण ५७ दशमलव ५ प्रतिशत रहेको छ । आन्तरिक ऋण नलिएको डलरको भाउ बढेकाले बाह्य ऋणको बोझ थपिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६(७७ को पहिलो महिना अर्थात साउनमा २ अर्ब ६० करोड रुपैयाँ वैदेशिक अनुदार र २ अर्ब ५७ करोड वैदेशिक ऋण गरी ५ अर्ब १७ करोड रुपैयाँ शोधभर्ना रकम प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ सालको असार मसान्तसम्म नेपाल सरकारको आन्तरिक तथा बाह्य ऋण अघिल्लो वर्षको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो ।

मन्त्रालयका अनुसार असार मसान्तसम्म सरकारको ऋण आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ र वैदेशिक ऋण ५ खर्ब ९३ अर्ब ८५ करोड रुपैँया रहेको थियो । गएको वर्ष सरकारले ९३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋण र ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक गरी कुल १ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

यस्तै गएको वर्ष सरकारले ५४ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ ३४ अर्ब ४ करोड र वैदेशिकतर्फ २० अर्ब ४ करोड रुपैयाँ ऋण तिरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्