सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता, ९ वटा टोली परिचालन

काठमाडौं, भदौ २५ ।दशैँ तिहारजस्ता चाड पर्वहरु नजिकि थालेसंगै सरकारले मिठाई पसलहरुको अनुगमनलाई पनि तिव्रता दिन थालेको छ । काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई सरकारले तीव्रता दिन थालेको हो ।

दशैं, तिहारजस्ता चाड पर्वलाई लक्षित गरेर अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको कृर्षि विकास मन्त्रालयले जनाएको छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गरेको छ ।
गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन सो अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिए ।

उनले अनुगमनको क्रममा तीनवटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि बताए ।

सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताए । उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताए ।

मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको पनि विभागले जनाएको छ ।
यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्यवस्तुको विक्री वितरण गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ ।

विभागकी महानिर्देशक बैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिएकी हुन् । सरकारले खाद्यबस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक ९ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्