५ वर्षमा निजगढ विमानस्थल तयार हुन्छः पर्यटनमन्त्री भट्टराई
काठमाडौं, भदौ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षमा निजगढ विमानस्थल तयार हुने बताएका छन् ।
उनले अबको ५ वर्ष्भित्र कुनैपनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने दाबि गर्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको उल्लेख गरे ।
त्यस्तै उत्तरदक्षिण दुबै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नती गर्ने र नयाँ नाका खोल्ने तथा पूर्वपश्चिम जोड्ने चारवटा राजमार्गहरुको निर्माण अघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उनले बताए।
युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने पनि उनले विश्वास व्यक्त गरे। उनले युरोपेली संघसँग निरन्तर वार्ता अघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने उल्लेख गरे।
साथै पर्यटनमन्त्री भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको दाबी गरेका छन्।
नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताए।
नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उनले निकट भविष्यमै २ अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताए।
कर्यक्रममा विज्ञहरुले मुलुकको पुर्वाधार विकासका लागि क्षेत्रीय अन्तरआबद्धतामा जोड दिएका छन्। सहभागी विज्ञहरुले समृद्धि र विकासका लागि आन्तरिक तथा बाह्य रुपमा समानान्तर विकास हुनुपर्ने बताएका छन्।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऊर्जा क्षेत्रका लागि दीर्घकालिन योजना तयार पारिसकेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे।
अबको केही वर्षमा नेपाल विजुली निर्यात गर्ने मुलुकको सूचीमा समावेश हुने भन्दै उनले चाँडै नै कम्तीमा ५ हजार मेगावाट विद्युत् छिमेकी मुलुकमा बिक्री गर्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्