हिमाली जिल्लामा समेत पुग्योे डेंगु, ६१ जिल्ला प्रभावित
काठमाडौँ , भदौ २५ । देशभर फैलिएको डेंगु हिमाली जिल्लामा समेत फेला परेको छ । सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ ।
केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगुको अहिले पहाड हुँदै हिमालसम्म पुगेको हो ।
महाशाखाले दिएको जानकारी अनुसार साउन १ देखि भदौ २४ गतेसम्मे सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं. ३ मा छन् । प्रदेश नं. ३ मा ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो । यस्तै सबै भन्दा पहिला डेङ्गुको संक्रमण फैलिएको प्रदेश नं. १ मा भने साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् ।
प्रदेश नं. २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं. ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेङ्गुको संक्रमण फैलिएको छ । अहिलेसम्म ६ जनाको मृत्यू भईसकेको छ । मृत्यू हुनेको संख्या पनि प्रदेश नं. ३ मा सबै भन्दा धेरै छ । यस प्रदेशमा ४ जना र अन्य प्रदेशमा २ जना गरी अहिले सम्म ६ जनाको निधन भएको महाशाखाले जनाएको छ ।
२०७६ साल वैशाखयताको तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्