पर्यटन बोर्डद्वारा वार्षिक बजेट पारित, बजेट १ अर्ब ६३ करोड

काठमाडौं, भदौ २४ । नेपाल पर्यटन बोर्डले वार्षिक बजेट बोर्ड बैठकबाट पारित गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याएको करिब ३ महिनापछि नेपाल पर्यटन बोर्डले पनि वार्षिक बजेट बोर्ड बैठकबाट पारित गरेको हो ।

बोर्डले चालु आवका लागि कुल १ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट बोर्डबाट पारित गरेको छ।

बोर्डले चालु आवको बजेटमा भिजिट नेपाललाई समेत प्रमुख प्राथमिकतामा राखेको छ। बोर्डले भिजिट नेपाल २०२० का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृति दीपकराज जोशीका अनुसार पर्यटन बोर्डको सञ्चालक बोर्डबाट पर्यटकीय गन्तव्यको प्रचार तथा प्रसारका लागि गरिने विज्ञापनका लागि पनि ७ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए।

विज्ञापन शिर्षकमा विनियोजन भएको रकम भने विशेषत सिएनएन र बिबिसीमा गरिने विज्ञापनको लागि भएको उनले जानकारी दिए।

यसैगरी बोर्डले यसपटको बजेट मार्फत् ३ वटा पर्यटकीय गन्तव्य तथा क्रियाकलापको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृति जोशीले जानकारी दिए।

जसमा इलामको चिया बगान, चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय क्रियाकलाप, स्की खेलको पनि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्