नेपाल टेलिकमले सुरु गर्यो सिंगो गाउँपालिका समेट्न सक्ने एफटीटीएच सेवा

काठमाडौं, भदौ २४। नेपाल टेलिकमले सिंगो गाउँपालिका समेट्न सक्ने एफटीटीएच सेवा सुरु गरेको छ ।

टेलिकमले एक कार्यक्रमका बीच पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको हो ।

भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा यहि २३ गते एक कार्यक्रमका बीच सेवाको शुभारम्भ भएको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे ।

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए ।

सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिए ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ । यसरी गाउँमै यस्तो सेवा पाउँदा ग्राहकहरुलाई सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्