एनसेल प्रकरणः लाभकरसम्बन्धी मुद्दा फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको आदेश क्षेत्राधिकार बाहिरको भएको जिकिरसमेत गरे ।

बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद मोहन बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए ।

सत्तारुढ दलकै अर्का सांसद यज्ञराज सुनुवारले अदालतको फैसलाले एनसेल, यसका सन्चालकलाईमात्र नभइ फैसला गर्ने र वरपरका लागि पनि फाइदा पुगेको भन्दै संसदले आदेशको सम्बन्धमा गम्भीर छानबिन प्रक्रिया अगाडि बढाउन माग गरे ।

नेकपाकै सांसद खगराज अधिकारीले एनसेलको लाभकर कुनैपनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे ।

यसअघि, आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले महाअभियोग लगाउन माग गरेका थिए । एनसेल प्रकरणमा विभिन समय मा विवाद हुँदै आएको छ । संसद बैठकमा पनि प्रतिपक्षदलले सरकार यस विषयमा मौन रहेको आरोप लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्