जाबो किरा मार्न नसक्ने पनि सरकार : नेता पौडेल

काठमाडौं, भदौ २४ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको काममाथि प्रश्न चिह्न गर्दै कडा आलोचना गरेका छन् । उनले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको कडा आलोचना गरका हुन् ।


कांग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो आलोचना गरेका ह्न् ।

‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखे । ‘यल्ले मेसै पाएको छैन । यसलाई काम गर्ने मेसो छैन,’ उनले भने ।

सरकारले एकातिर सपना देखाएर अर्कै्तिर काम गरेको उनको आरोप छ । जनतालाई निराश पार्ने काम सरकारले गरि रहेको उनले बताए । ‘यो सरकार वास्तवमा असफल भई सकेको छ । दुई तिहाई मतको घोर दुरुपयोग गरि रहेको छ,’ उनले भने ।


सत्तामा पुग्ने बित्तिकै नेकपाले अरुमाथि थिचोमिचो गरेको उनको आरोप छ । साथै अर्बौको भ्रष्टाचार भई रहँदा अख्तियारले के हेरेर बसेको छ भन्दै उनले प्रश्न गरे । ‘ठुला टाउकेहरुले भ्रष्टाचार गरि रहेका छन्,’ उनले भने, ‘यत्रो भ्रष्टाचार भई रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’ दुई तिहाईले अदालत र अख्तियारलाई समेत तसाएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्