ओली र मोदीले गरे स्विच थिचेर नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं, भदौ २४ । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

पहिलो चरणमा पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ । अहिले अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ ।

डिपोमा तेल आपूर्तिसँगै तेलको परीक्षण, सप्लाई र भण्डारण सम्मका सबै व्यवस्थापन मिलाइएको छ ।

यसअघि ट्याङ्करले भारतबाट नेपाल तेल ढुवानी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्