चिसो अध्याधिक, रौतहतमा २ जनाको मृत्यु

रौतहट । शीतलहरसँगै बढेको जाडोले कठाङ्ग्रिएर शनिवार राति रौतहटमा थप दुईजनाको मृत्यु भएको छ ।
रौतहटको परोहा नगरपालिका(२ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मीको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
शेख समिम र मरठिया दुवै आ(आफ्ना घरमा खाना खाएर सुतेको र विहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । दुवै जनाको शव परीक्षण गर्दा जाडोले कठाङ्ग्रिएर मृत्यु भएको प्रतिवेदन प्रहरीलाई प्राप्त भएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

गत शुक्रबार राति रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलिको इँटा उद्योगमै कठाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी गत साता गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।

निरन्तर रुपमा चलिरहेको पश्चिमा हावासँगै बाक्लो हुस्सु र शीतलहरबाट रौतहट लगायत मध्य तराईका जिल्लाहरुमा अत्यधिक जाडो भएपछि यस भेगको जनजीवन प्रभावित भएको छ ।

अत्याधिक जाडोले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु पनि कम भएका छन ।

शीलतहर बढेर जनजीवन प्रभावित भएपछि रौतहटका सामुदायिक विद्यालयमा दिइएको विदामा थप चार दिन थप गरी आउदो २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

जिल्लामा बढ्दै गएको जाडोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा गौर नगरको विभिन्न स्थानमा दाउरा खसाली आगो ताप्ने व्यवस्थापन गरिएको छ ।
गौर नगरपालिका बाहेक अन्य स्थानहरुमा भने अझै पनि स्थानीय गरीब दलितहरुलाई चिसोबाट जोगाउन सम्बन्धित स्थानीय जनप्रतिनिधिहरुले पहल गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्