कुखुरा मासुको भाउमा गिरावट
काठमाडौं, ८ कार्तिक । दशैं सकिए लगत्तै कुखुरा मासुको भाउमा गिरावट आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।
संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैंअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।
मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।
यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन गरेको संघको भनाइ छ । यसले उपभोक्तालाई राहत हुने छ ।






















प्रतिक्रिया दिनुहोस्