क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ । क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन । हरेक चौका–छक्कामा गुञ्जिने हुटिब, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ । यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिब गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिनेछ ।

एक्सट्रीमले देशका ९ सहरका १० स्थानमा फ्यान जोनको व्यवस्था गरेको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन्।

उपत्यकाबाहिर पनि एनपीएलको रौनक फैलाउने तयारी गरिएको छ । सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्रदेखि कर्णालीको सुर्खेतस्थित घण्टाघर डबलीसम्म फ्यान जोन सञ्चालन हुनेछन्। त्यस्तै, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि क्रिकेटप्रेमी एकै ठाउँमा भेला भएर एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो
गुद्री मैदानमा समेत फ्यान जोन रहनेछन्।

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी एक्सट्रीमको छ । यहाँ क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछन् । दर्शकले रमाइला खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनेछन्भने गिभअवे कार्यक्रममार्फत आकर्षक उपहारसमेत प्राप्त गर्न सक्नेछन्।

एनपीएलप्रतिको बढ्दो उत्साहलाई क्रिकेट मैदानको सीमाभन्दा बाहिर पु¥याउँदै देशका विभिन्न सहरका समर्थकलाई एउटै माहोलमा जोड्ने उद्देश्यले एक्सट्रीमले यो पहल अघि सारेको हो । खेल हेर्न रंगशालामै पुग्न नसक्ने क्रिकेटप्रेमीले पनि आफ्नै सहरमा ठूलो स्क्रिनअगाडि भेला भएर प्रतियोगिताको रोमाञ्च अनुभव गर्न सक्नेछन्।
मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिब, उत्साह र सामूहिक खुसीले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ । यसरी क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने एक्सट्रीमका फ्यान जोन प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीको आकर्षक जमघटस्थल बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्