आरटिजिएस सिस्टम मंगलबारदेखि कार्यान्वयनमा आउँदै, दुई लाख बढीको रकम एक बैंकबाट अर्कोमा सीधै भुक्तानी हुने
जागरण न्युज
काठमाडौं, २३ भाद्र । चेकको क्लियरिङ नगरी नै अब एक बैंकबाट अर्को बैंकमा रकम सीधै भुक्तानी हुने भएको छ । केन्द्रीय बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) विधिबाट भुक्तानी कारोबार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएसँगै यो व्यवस्था लागू हुने भएको हो । चेक क्लियरिङ गर्दा २ दिनसम्म समय लाग्ने गरेको थियो ।
राष्ट्र बैंकले क वर्गका बैंकहरुलाई भदौ २४ गते देखि मंगलबारदेखि लागू हुने गरी निर्देशन दिएको हो । भदौ १९ गते नै राष्ट्र बैंकले आरटीजीएस नियम लागू गरेको थियो । विकास बैंक र फाइनान्स कम्पनीलाई भने पुस मसान्त भित्र यस सिस्टममा आबद्ध हुन निर्देशन दिएको छ ।
यो प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्र लागू हुनेछ । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्नेछ । एकाउन्ट पेयी चेकमार्फत कारोबार गर्दा केही झन्झटिलो मानिन्छ । चेक पाउने व्यक्तिले बैंकमा उक्त चेक बुझाएको ९ देखि १२ घन्टापछि मात्र खातामा रकम पाउनेछन ।
के हो आरटिजिएस ?
आरटिजिएस भन्नाले पूर्ण विद्युतीय संस्था–संयन्त्र जहाँ ठूलो तथा सानो मुल्यको भुक्तानी ट्रान्सफर एंव हिसाव मिलान गर्ने कार्यलाई बुझिन्छ ।
यस्तै संस्था तथा संयन्त्रमा भुक्तानी दिनेको भुक्तानी खाता खर्च–डेबिट गरी भुक्तानी पाउनेको खातामा जम्मा गरेर विना जोखिम कारोबारको तुरुन्त फछर्यौट गरिने प्रणाली हो ।
प्रतिक्रिया दिनुहोस्