अत्याधुनिक सुविधासहित बिजुली बस सञ्चालन
काठमाण्डौ, २३ भदौ । काठमाडौं उपत्यकामा आजदेखि बिजुलीबाट सार्वजनिक बस गुड्ने भएका छन् ।
निजी क्षेत्रको सुन्दर यातायातले काठमाडौं उपत्यकामा आजदेखि बिजुलीबाट पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने छ ।
प्रयागकताको हितलाई मध्यनजर गर्दै बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ ।
सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताए ।
कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रूहरुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।
बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधा समेत जडान गरिएको छ ।
त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्