एनसीसी बैंकको साधारण सभा आज, के–के हुँदैछ पारित ?
काठमाडौं, २३ भदौ । नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लि.ले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर अनुमोदनका साथै बिभिन्न एजेण्डा माथी छलफल गरि पास गर्न लागि आज बीसौं र एक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले राष्ट्रिय सभा गृहमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा बोनमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव लैजाँदैछ ।
त्यसैगरी साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान, सम्पति तथा दायित्व मुल्यांकनको लागि मुल्यांकनकर्ता नियुक्त गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान तथा मर्जर सम्बन्धि सम्पूर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
बैंकले धितोपत्र निक्षेप सम्बन्धि कार्य गर्ने र सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायीको कार्य र थप सार्वजनिक निष्काशन (एफपीओ) व्यवस्था थप गर्ने प्रस्ताव समेत गरेको छ ।
साधारण सभाबाट बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरको तर्फबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ ।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन २५ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्