सुपथ मूल्य पसल आजदेखि सञ्चालन हुँदै, ५ देखि ५० रुपैयाँसम्म छुट
काठमाण्डौ, २३ भदौ । नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरुमा आम उपभोक्तालाई सहुलियत दिने उदेश्यले सरकारले सोमबारदेखि विभिन्न स्थानमा सहुलियत पसल सुरु गर्दैछ ।
काठमाण्डौ उपत्यकाका ९ ठाउँ सहित देशका मुख्य मुख्य शहर र ठाउँमा पनि सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आजदेखि सुरु भई सहुलियत पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा रहने छन् ।
सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा उपलब्ध गराईने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।
डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ ।
साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यस्तै काठमाण्डौमा ३ वटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि गरेको छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेका छन् ।
वाणिज्य विभागका अनुसार काठमाडांै उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल संचालन हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।
काठमाण्डौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्नेे विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्