अर्बपति चौधरीले गरे संसदमै अर्थमन्त्रीको आलोचना, भने – जथाभावी कर लगाउन मिल्छ ?

काठमाडौँ , भदौ २२ । नेपाली कांगेका सांसद विनोद चौधरीले ७५३ वटा सरकार चल्न पैसा चाहिएको छ भन्दैमा जथाभावी कर लगाउन नमिल्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने निर्णय भए त्यसले मुलुकमा गम्भीर चुनौती थप्ने उनले चेतावनी दिए। उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुरा हल्लामा मात्रै सिमीत होस् भन्ने आफ्नो चाहना रहेको उल्लेद गरे ।

उनले अर्थमन्त्री युवराज खतिवडाले कर लगाउने नयाँ–नयाँ उपाय खोजिरहेको आरोप समेत लगाए ।

‘अर्थमन्त्रीज्यूलाई कर लगाउने नयाँ–नयाँ उपाय खोज्नुपर्ने बाध्यता मैले बुझेको छु । तर, करलाई यदि हामीले उत्पादनसँग जोड्न सकेनौँ रव्यापारलाई प्रतिस्पर्धी बनाउन सकिएन भने खासगरी भारत र चीनजस्ता मुलुकका बीचमा लगभग खुला रुपमा वस्तु र सेवाहरु आदानप्रदान हुने भौगोलिक स्थितिको पृष्ठभूमिमा हामीले तय गरेका हाम्रा योजनाहरु केवल कागजमा सीमित रहने निश्चित छ’, चौधरीले भने ।

उनले अगाडि भने, ‘७५३ वटै सरकारलाई डोजरदेखि मोटर किन्नका लागि पैसाको जोहो गर्ने क्रममा अर्थमन्त्रीज्यूले गर्नुभएका नयाँ नयाँ राजस्वका प्रयोगहरुको मारमा कहीँ उद्यमी, व्यवसायी र भएका उद्योग व्यवसायसमेत धरासायी नहुन् । अर्थमन्त्रीजी यहाँ सुन्दै हुनुहुन्छ, उहाँको ध्यान आकृष्ट गर्न चाहन्छु र सभामुखमार्फत् यो सन्देश गम्भीरताका साथ सरकारले ग्रहण गरोस् भन्ने कुरा राख्न चाहन्छु ।’

उनले औधोगिक विकासका कुरा सरकारी घोषणामा मात्रै सिमीत रहेको बताए ।

‘७ वटै प्रदेशमा औधोगिक क्षेत्र खोल्छौँ भन्ने उद्घोष हुन्छ । एउटै खुलेको थाहा छैन । कति लामो प्रक्रिया लाग्ने हो ? विशेष आर्थिक क्षेत्र खुल्यो भैरहवामा तर एउटा मात्र उद्योग सञ्चालनमा छ । अरु कोही जान चाहँदैन भन्ने कुरा छापामा आएको छ ।

गार्मेन्ट उद्योगका लागि विशेष आर्थिक क्षेत्र बनाइयो तर, कसैको पनि निवेदन परेको छैन भन्ने कुरा छापाबाट प्रष्ट देखिरहेका छौँ’ उनले भने ।


उनले धान्नै नसकिने करका दरहरु प्रस्तावित गरिएकोले नेपालको निर्यात क्रमशः घट्ने क्रमबाट अगाडि बढिरहेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्