मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको अर्थमन्त्रीको भनाई, त्यसो नगर्न सचेत

काठमाडौं, भदौ २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाइदा नपुग्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेकोमा आपत्ति पनि जनाए ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए ।

उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्