विद्युतीय सामग्री नेपालमै उत्पादन गर्न व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, भदौ २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

नेपाल विद्युतीय व्यवसायी महासंघको दशौं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् ।


साथै उनले नेपालभित्रै विद्युतीय सामाग्री उत्पादन गर्दा सरकारले संरक्षण दिने पनि बताए ।
धरायसी उपकरण मात्र नभई औद्योगिक र व्यवसायिक विद्युतीय उपकरण पनि नेपालभित्रै उत्पादन गर्नुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले भने ‘विद्युतीय सामग्री नेपालमा उत्पादन हुन्छन् भने हामी संरक्षण दिन्छौं। त्यस्तो संरक्षण दिनलाई सरकारले सबै उपाय अपनाउँछ। आयातमा भन्सार लगाउन सकिन्छ। भन्सार सस्तो भयो भने मूल्यांकन पनि बढाउँछौं। त्यतिले पनि पुगेन भने अन्तःशुल्क लगाउन सक्छौं र मूल्य अभिवृद्धि कर त लगाउने नै भयौं,’

अर्थमन्त्री खतिवडाले विद्युत उत्पादन र वितरणमा नेपाल आन्तनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भनेर नीजि क्षेत्रले स्पष्ट कार्ययोजना बनाएर बुझाउन पनि खतिवडाले आग्रह गरेका छन्।


नेपालको विद्युत उत्पादनसँगै त्यसको खपतमा पनि जोड दिनुपर्ने उनको भनाइ छ। पेट्रोलियम ऊर्जालाई विद्युतीय उर्जाका माध्यामबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्ययोजना लिएर अगाडि बढेको खतिवडाले बताए।


‘हामीलाई छिट्टै एलपी ग्याँसको खपत घटाउनु छ। एक दुई वर्षमा नै त्यसको उत्पादन आधा गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने।

विद्युतीय सामग्री बाहिरबाट आयात गर्ने र नेपालमा त्यसको व्यापार गर्दा व्यवसायीहरूले सहुलियत पाउने विषयमा आफूले सोच्न पनि नसक्नेसमेत खतिवडाले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्