बालिका अपहरणकारी पक्राउ, बालिकाको सकुशल उद्धार

काठमाडौं, भदौ २० । बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बन्धक बनाइएकी बालिकाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको हो । शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा–२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो ।

अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

निगमले शुक्रबार बिहान रोहिणी गाउँपालिका–२ स्थित बैकुण्ठपुर घर भएकी ५ वर्षीया नाबालिकालाई अपहरण गरेका थिए । डीएसपी भण्डारीले बालिका अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो ।

प्रहरीका अनुसार आफ्नो आँगनको घरमा खेलिरहेको बेला निगमले बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका थिए । निगम विगत १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएका थिए ।

प्रहरीले अपहरणकारीको खोजी गर्दै जाँदा घर नजिकैको रोहिणी जंगलमा नाबालिकाको मुख थुनेर लुकेर बसेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको डीएसपी भण्डारीले बताए ।

प्रहरीका अनुसार निगमले बालिका अपहरण गर्नुको कारण नखुलेको र प्रहरीको बयानमा पनि केही बताएका छैनन् । यसअघि बालिकाको परिवार र निगमको चिनजान समेत नरहेको पाइएको छ ।

अपहरणकारी निगममाथि प्रहरीले अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने भएको । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्