जनकपुरले पोखरालाई पराजित गर्दै दोस्रो जित निकाले
काठमाडौं, १५ कार्तिक । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा जनकपुरले आइतबार पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाएपनि जित दिलाउन सकेनन् । उनले २४ बलमा ५ चौका प्रहार गरे ।
ओपनर दिनेश खरेल ३, महेदी हसन ८, शाकिब अल हसन ९, अर्जुन घर्ती ७, किरण ठगुन्ना १५, चमिका करुणारत्ने ४, विपिन आचार्य २० र मोहम्मद सैफुद्दिन कुनै पनि रन नोजोडी आउट भए । विपिन खत्री १७ र प्रतिक पोखरेल २ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका स्पिनर हाबी भए । मोइन अलीले ३, कप्तान हर्मीत सिंह र सैफ हसनले दुईदुई तथा जिम्मी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनर त्रितराज दासले ५५ बलमा ६१ रनको योगदान दिएका थिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए ।
अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे । सैफ हस एक, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह ९ रनमा आउट भए ।
पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एकएक विकेट लिए ।






















प्रतिक्रिया दिनुहोस्