उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने

काठमाडौँ, भदौ २० । दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्ट्सिटीको विकासका लागि सहयोग गर्ने भएको छ ।

कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट्सिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण तथा स्मार्ट्सिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा उक्त सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्ट्सिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए ।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

प्रतिक्रिया दिनुहोस्