नेतृत्व इमान्दार नहुँदा अराजकता सिर्जना गर्ने तत्व सक्रिय हुँदै गए : प्रचण्ड

काठमाडौं, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व इमान्दार नहुँदा मुलुकमा अराजकता सिर्जना गर्ने तत्व सक्रिय हुँदै गएको बताएका छन् ।


ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिकर्मीले आफैंबाट सुशासनको थालनी गर्नुपर्ने बताउदै उनले परिर्वतन र सुशासनका लागि राजनीतिक दल आफैं प्रतिबद्ध हुनुपनमा जोड दिए ।

राजनीतिक क्रान्तिसँगै आर्थिक विकासमा क्रान्ति आवश्यक रहेको भन्दै उनले यसतर्फ लाग्न सबैसँग आग्रह समेत गरे ।

यसैबीच कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

पर्यटन क्षेत्रको विकासबाटमात्र मुलुकको आर्थिक विकासले गति लिने भन्दै उनले पर्यटन क्षेत्रको समृद्धिका लागि नेपालमा पर्यटन विश्वविद्यालय खोल्ने उद्घोष गरे ।

पर्यटन व्यवसायीहरुले भने मलुकको आर्थिक क्षेत्रकारुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधारमा जोड दिएका थिए ।

टानको साधारणसभाले आउँदो दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्