चार दिनदेखि भाइरल ज्वरोले एकै गाउँका ७३जना बिरामी

कठमाडौं, भदौ २० । पाल्पामा भाइरल ज्वरोले एकै गाउँका ७३ जना बिरामी परेका छन् ।

पूर्वखोला गाउँपालिका–३ रिङनेरहको अर्खलडाँडामा चार दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँ नै प्रभावित हुन पुगेको छ । यति बेला गाउँका अधिकांश बिरामी भएपछि दुई दिनदेखि त्यहाँ विद्यालय समेत बन्द रहेका छन् ।

अर्खलडाँडामा केही दिनयता मौसमी भाइरल ज्वरोको प्रकोप देखिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले बताए ।

कोरङगा र अर्खलडाडाँ गाउँका २० बढी घर परिवारमा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।
भाइरल फैलिएको जानकारी पाउनासाथ गाउँपालिकाको स्वास्थ्य शाखा र रिङनेरह स्वास्थ्य चौकीबाट गाउँमै शिविर राखेर बिहीबार उपचार गरिएको छ।

स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालका अनुसार ७३ जनालाई गाउँमै पुगेर उपचार गरिएको छ। टोलीले ४३ जना पुरुष, ३० जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो। यसमा १८ जना विद्यार्थी प्रभावित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

गाउँका अधिकांश बालबालिका बिरामी परेको र भाइरल अन्यलाई सर्ने भएकाले जनउज्जवल आधारभूत विद्यालय शुक्रबार पनि विदा दिइएको छ।

मौसमी रुघाखोकी, ज्वरो र भाइरलमा उपचार पछि केही सुधार आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकामा दैवीप्रकोप द्रुत समूह गठन गरिएकाले खबर पाउनासाथ तत्काल उपचारका लागि टोली पठाउने गरिएको छ ।

गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन सकेको छैन । मौसमी भाइरल ज्वरोको प्रकोपका कारण त्यहाँका स्थानयले थला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्