प्रधानमन्त्री ओली स्वदेश फर्किए, पत्रकारसँग नबोली बालुवाटार प्रस्थान

काठमाडौं, भदौ २० । दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

स्वास्थ्योपचारका सिलसिलामा दुई साता लामो सिंगापुर बसाइ सकेर उनी आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि मन्त्रिपरिषदका सदस्यहरु, संवैधानिक अंगका प्रमुखहरु, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु विमानस्थलमा पुगेका थिए ।

समाचार संकलनका लागि विमानस्थल पुगेका संचारकर्मीसँग नबोली प्रधानमन्त्री ओली बालुवाटारतर्फ प्रस्थान गरेका छन् । अघिल्लो पटक सिंगापुरबाट फर्कदा पनि ओलीले पत्रकारसँग कुरा गरेका थिएनन् ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य (प्रस्तावित उपाध्यक्ष) वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किएछन्।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेका थिए ।
प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्