मेलम्चीमा गोली चल्यो, दर्जनौँ सेल अश्रुग्यास प्रहार, दुई जना घाइते

काठमाडौं, भदौ १९ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

मेलम्चीको अम्बास्थानमा आन्दोलनकारीले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जानकारी दिए ।

यसैबचि सिन्धुपाल्चोकको मेलम्चीमा गोली चल्दा दुई जना घाइते भएका छन्।

भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको हो। घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको दाबी गरेको छ। बिहीबार दिउँसो करिब ३ बजे उक्त घटना भएको हो।

हातमा गोली लागेका मनोज चौधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ।

आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी) सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्। बुधबार पनि उनीहरुले मेलम्ची बजारस्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए।

मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८र९ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका इन्पेक्टर मणिराम लामिछानेले बताए।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधान लगायतमा आक्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दावी गरेको छ ।

मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला,लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।

भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आयोजना छाडेको निर्माण कम्पनी सीएमसीले दिनुपर्ने रकम भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेर आन्दोलन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्