एटीएम ह्याकिङ प्रकरण : भारतीय बैंकबाट पनि १ करोड ७० लाख निकालिएको खुलासा

काठमाडौं , भदौ १९ । नेपालका विभिन्न सातवटा बैंकबाट रकम चोरी भइरहेकै बेला भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ ।

एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार साँझ राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको हो ।

भारतबाट मात्र करिब एक करोड ७० लाख रुपैयाँ निकालिएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनले नेपालमा निकालिएकै हाराहारीमा भारतबाट समेत निकालिएको देखाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।

मिश्र नेतृत्वको समितिले प्रतिवेदनमा अल्पकालिन र दीर्घकालीन गरेर २ किसिमका सुझावहरु दिएको छ । हाल घटेको घटनाहरुको विज्ञद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गर्न भनिएको छ । कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्न समितिले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी र पीएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्न निर्देशन दिइएको छ ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको पाइएको छ ।

यसरी १३२ एटीएमबाट नेपाली रुपैयाँ एक करोड ६९ लाख ३९ हजार पाँच सय २० रुपैयाँ निकालेको पाइएको हो । नेपालका जम्मा सातवटा बैंकबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबर रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो रकम सातवटा विभिन्न बैंकको हो । जसमा १७ वटा बैंकका ६८ वटा एटीएम प्रयोग गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्