सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित

काठमाडौं, भदौ १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।

‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।” उनले भने ।

नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने समेत उनले बताए ।

‘धेरै युवा विदेशमा पसिना चुहाइरहेका छन्,’ मन्त्री पण्डितले भने, “लाखौं युवाहरु बेरोजगार छन्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको परिवारमा खुशियाली दिनका लागि संघीय सरकार अघि बढिरहेको छ ।”

पछिल्लो समय कर्मचारीहरु सरकराले खटाएको ठाउँमा नजाने प्रवृत्ति बढेको छ । आफुले चाहेको ठाउँमा मात्र जाने गरेका छन् । विकट ठाउँमा जान मन नलागाउने गरेको पाएको छ ।

प्रतिक्रिया दिनुहोस्