विदेशबाट आउने यात्रुका सामान विमानस्थलमै चोरी, एकै दिन तीन सरकारी कर्मचारी पीडित

काठमाडौं, भदौ १९ । त्रिभुवन विमानस्थलमा अन्तर्रा्ष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको घटना फेरि दोहोरिन थालेको छ ।

केही समय सुन्न नपाएको चोरीको घटना पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन् ।

अघिल्लो शनिबार (भदौ ७ गते) मलेसियाको मालिन्दो एअरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरिएको हो ।

सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त सामान हराएको सम्बद्ध यात्रुले बताए । ताला लगाएर बुझाएको झोला काठमाडौंमा ताला तोडेको अवस्थामा भेटिएको उनीहरु बताउँछन् ।

हुलाक सेवा विभागकी कला अधिकृत पूर्णकला लिम्बुले आफ्नो पैसा विदेशी विमानस्थलमा चोरी नभएको जिकिर गर्दै नेपालकै विमानस्थलका कर्मचारी जिम्मेवार रहेको बताइन् । अर्का पीडित शालिकराम नेपालले आफ्नो ब्यागबाट झण्डै पाँच हजार रुपैयाँ, इन्डोनेसियाबाट ल्याएका तीनवटा कमिज र चकलेट चोरी भएको बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्