विद्युत प्राधिकरणले भरतपुर महानगरमा बिजुलीको तार भूमिगत गर्ने

कठमाडौं, भदौ १८ । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ ।

प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो ।

महानगरपालिकाभित्र कसरी भूमिगत लाइन विछ्याउन सकिन्छ भन्नेबारेमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोलीले महानगरपालिका प्रमुख रेनु दाहालसहितका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहेपनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ ।

चार महिनाभित्र नै सबै डिपिआरको काम सकिने मेयर दाहालले जानकारी दिइन् । काठमाडौं महानगरपालिकापछि विद्युत लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको सिलवालले बताए ।

‘महानगरको सबै विद्युत लाइनलाई भूमिगत बनाउने योजना अहिले बनाउछौं, एकै पटक सबै ठाउँमा काम गर्न बजेटले भ्याउदैन,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘तर चरणवद्ध रुपमा काम हुँदै जान्छ ।’

प्राधिकरणले पहिलो चरणमा नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने गरी योजना अघि बढाएको छ ।

एडीबीको एक अर्वको प्रोजेक्ट यसै बर्षदेखि भरतपुर महानगरमा सञ्चालन गरिने सिलवालले बताए । उनले यसका लागि परामर्शदाता चयनदेखि ठेक्काको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

विद्युत लाइन भूमिगत गर्दा सडक खन्ने काम नगरिने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बताए ।

प्राधिकरणले भूमिगत तार विछ्याउँदा नेपाल टेलिकम, केवुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ ।

उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको वितरण केन्द्रका प्रमुख महतोले बताए । प्राधिकरणले यही क्रममा भरतपुर विमानस्थलको पूर्वतर्फको अवरोधका रुपमा रहेको विद्युतको हाइएक्सटेन्सन लाइनलाई भूमिगत बनाउने योजनामा समेटेको छ ।


महानगरका प्रमुख दाहालले विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइन् । यसरी तारहरु भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण सुन्दर देखिने भएको छ भने तारबारको पनि ब्यवस्थापन हुने भएको छ ।


शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । ‘विद्युत प्राधिकरणले भरतपुरलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म भूमिगत लाइन विछ्याउने काम अझ बढी आवश्यक छ देखिन्छ र काम पनि अघि बढि सकेको छ काम तत्कालनै अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्