भरतपुर विमानस्थल विस्तारको काम एक हप्ताभित्र अघि बढाइन्छ ः मन्त्री भट्टराई

काठमाडौं, भदौ १८ । भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नतिको काम एक हप्ताभित्र अघि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

विमानस्थल विस्तारको लागि उत्तरपट्टी रहेको सेनाको ब्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी यो काम अघि बढाइने मन्त्री भट्टराईले बताए ।

आज भरतपुरमा आयोजित भरतपुर विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा उनले भरतपुर विमानस्थल जोखिममा रहेकोले बन्द अथवा विस्तारको विकल्प नरहेको बताए ।

“यो विमानस्थल लुक्लापछिको जोखिम विमानस्थल हो । अब यसको विस्तार एवं बन्दको विकल्प छैन ।” उनका अनुसार एक हप्ताभित्र सरोकारकारवाला मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरुबीच बैठक बसेर विस्तारको काम टुंगिनेछ ।


यसका लागि रक्षा मन्त्रालय, प्रधानसेनापति, प्रदेशस्तरीय मन्त्रीहरुबीच छलफल गरेर अघि बढाइने उनको भनाइ छ । “विमानस्थल विस्तारको हामी प्रस्थान बिन्दुमा छौं । अब हामी एक हप्ताभित्र एक्सनमा जान्छौं,” मन्त्री भट्टराईले भने, “काठमाडांैको विमानस्थलमा आन्तरिक साना जहाजलाई बन्द गर्छौं । भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाउँछौं ।”

कुल क्षेत्रफल ६२ विघा रहेको विमानस्थलको १ हजार २ सय मिटरमात्र धावनमार्ग छ । सेनाको व्यारेक स्थानान्तरण गर्न सकिएमा ६ सय मिटर धावनमार्ग थप गर्न सकिनेछ । हाल भरतपुर विमानस्थलबाट दैनिक काठमाडौं र पोखरा गरी ११ वटा उडान हुँदै आएका छन् ।

सो अवसरमा बोल्दै सेनाका क्षेत्र नम्बर तीनका पृतनापति ताराध्वज पाण्डेले विकासको लागि नेपाली सेना बाधक नहुने बताए । विमानस्थलको लागि प्राविधिक समिति बनाएर अघि बढ्न उनले सुझाव दिए ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दूरगामी महत्व राख्ने निकुञ्ज, पर्यटन क्षेत्र र देशकै केन्द्रबिन्दुमा रहेको विमानस्थल रहेकोले यसलाई यथाशिघ्र विस्तार गर्नुपर्नेमा जोड दिए । दाहालले अब एक्सनमा जान ढिला गर्न नहुने बताए । चितवनमा रहेको अर्को मेघौली विमानस्थललाई पनि वैकल्पिक विमानस्थलको रुपमा छुटाउन नहुने उनको भनाइ थियो ।

यता प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विमानस्थल विस्तारका लागि आउने चुनौती मुख्य विषय भएको औंल्याए ।

“विमानस्थल विस्तारका लागि आउने चुनौती मुख्य विषय हो । सरकारले चाह्यो भने यस विमानस्थललाई १३ वटा जिल्लाको कनेक्टिभिटीको रुपमा विकास गर्न सक्छ,” उनले भने । चितवन पर्यटन, कृषि, स्वास्थ्य शिक्षाको हबको रुपमा विकसित भएकोले पनि काठमाडौंपछिको वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्न सकिने उनको भनाइ् थियो ।

कार्यक्रममा भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थलको चुनौती, अवस्था र सम्भावनाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उद्योगी व्यवसायीले विमानस्थलको लागि विस्तारसंँगै विकल्पसमेत खोज्नुपर्नेमा सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्