बैंक तथा लघुवित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं,२६ पुस । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंक र लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको यस निर्णयसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिनेछ । यस क्रममा ग्राहकको पहिचान हुने (केवाईसी) प्रक्रिया पनि राष्ट्रिय परिचयपत्रमार्फत नै गरिनेछ ।
राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै लागू गरेको हो । सरकारको कार्यतालिका अनुसार माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्णय गरिएको थियो, तर सर्वोच्च अदालतमा रिट दायर भएपछि उक्त निर्णय कार्यान्वयनमा रोकिएको थियो । यद्यपि, राष्ट्र बैंकले भने आफ्ना निर्देशिकामा यसलाई अनिवार्य गरेको छ ।
नयाँ निर्देशन अनुसार, अब खाता खोल्दा केवाईसी विवरण भरिराख्नु नपर्ने यदि ग्राहकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखको आधारमा खाता खोल्न चाहन्छ भने यसले खाता खोल्ने प्रक्रिया थप सजिलो बनाउने अपेक्षा गरिएको छ । यससँगै, नेपाल सरकारले सामाजिक सुरक्षा कोष लगायतका सरकारी भुक्तानी दिने समयमा सम्बन्धित सरकारी निकायको विवरणको आधारमा पनि बैंकले खाता खोल्नु पर्नेछ ।
त्यस्तै, राष्ट्र बैंकले बैंक र लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउन निर्देशन दिएको छ। यसले सम्पत्ति शुद्धीकरण निवारण ऐन र नियमावली अनुरूप ग्राहकको पहिचान र पुष्टि सुनिश्चित गर्नेछ ।
निर्देशन अनुसार, आगामी माघ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ । साथै, विद्युतीय माध्यमबाट गरिने कारोबारमा सुरक्षा उपायहरू अपनाउनका लागि बैंक र वित्तीय संस्थाहरूलाई विशेष सावधानी अपनाउन निर्देशन समेत दिएको हो ।
प्रतिक्रिया दिनुहोस्