बर्खास्तीमा परेका कर्णालीका पूर्वमन्त्री खत्री उच्च अदालतमा हाजिर
काठमाडौं, भदौ १८ । बैंकिङ कसुरसम्बन्धी मुद्दा लागेपछि बर्खास्तीमा परेका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री खडकबहादुर खत्री उच्च अदालत पाटनमा हाजिर भएका छन् ।
कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कायममुकायम प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएका थिए ।
गएको साउन २८ गते उच्च अदालतले खत्रीलाई तीन दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर, उनी बुधबारमात्र हाजिर भएका हुन् ।
उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले खत्री हाजिर भएको र अहिले बयान भइरहेको जानकारी दिए ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान भइरहेको हो ।
कृषि विकास बैंक भोजपुरबाट एक करोड ८० हजार रुपैयाँको कीर्ते बैंक ‘ग्यारेन्टी’को पत्र खत्रीसहित पाँचजनाले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीहरुविरुद्ध बैंकिङ कसुरको मुद्दा चलेको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा तानिएसँगै उनको मन्त्री पदसमेत खोसिएको थियो ।
प्रतिक्रिया दिनुहोस्