रेल चढ्ने रहर अझै अन्योलमा

काठमाडौं, भदौ १८ । ‘आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् ।

भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा नबढेपछि निराश भएर यस्तो जवाफ फर्काउने गरेका हुन् ।

“बर्दिवासके वात छोइड दिय, जयनगर स कुर्थातक त पटरी तयार भगेल अई” (बर्दिवाससम्मको कुरा अहिले छोडिदिनोस्, जयनगरबाट कुर्थासम्मको त लिक तयार भइसकेको छ) भङ्गाहा–३ कटैयाका ६५ बर्षीय हरि यादवले निराशा पोख्दै भने “पोरे साल रेल चलके वात छल, मुदा वातेमें रहीगेल” गत वर्ष नै रेल चल्ने (जयनगरदेखि कुर्थासम्म) कुरा थियो, कुरोमै सिमित रह्यो ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१४ मा शुरु भएको रेल स्तरोन्नति र सेवा विस्तारको काम सन् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो ।

पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा सन् २०१९ को मार्च्भित्र र तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) सन् २०२० भित्र रेल सञ्चालनमा आइसक्ने तालिका थियो ।

तर, त्यो तालिकाअनुसार काम नबढेपछि सर्वसाधारणमा रेल कहिले चल्न थाल्ने हो भन्ने कुरामा अन्यौलसँगै निराशा बढेको हो । जयनगरदेखि कुर्थासम्मको लिक ओछ्याएर परीक्षण पनि गत वर्षकै भदौमा गरिएपछि यस भेगका सर्वसाधारणमा दशैँ, तिहार र छठ पर्वको सेरोफेरोमा रेल चल्ने आस थियो ।

तर, रेल खरीद र सञ्चालन प्रक्रियामा भएको ढिलाइले हालसम्म पनि रेल चल्न नसकेपछि सर्वसाधारणले चाँडै रेल चढ्न पाउने आस मारेका हुन् । त्यसैगरि दोस्रो खण्ड (कुर्थादेखि भङ्गाहासम्म) को ग्रेवल ओछ्याउने, लिक ओछ्याउने काम थालिएकै छैन भने तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) मा अझै जग्गा मुआब्जा विवाद कायम नै रहेकाले यस खण्डमा काम थाल्न नै अन्योल देखिएको हो ।

यसबीचमा रेल खीरद र सञ्चालन प्रक्रिया टुङ्गिएर आवश्यक जनशक्ति पूर्ति गर्ने प्रक्रिया अघि बढेपछि यसपाली चाहिँ तिहारअघि पहिलो खण्डमा रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।

“लिक ओछ्याएर परीक्षणसमेत एक वर्ष पहिले नै भइसके पनि रेल खरीद र सञ्चालन प्रक्रिया नटुङ्गिदा ढिलाइ भयो”, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने “अब ती प्रक्रिया सबै पूरा भएका छन्, जनशक्ति पूर्ति गर्ने प्रक्रिया पनि अघि बढ्यो, यसपालि भने पहिलोखण्ड (जयनगरदेखि धनुषाको कुर्थासम्म) मा तिहारसम्म रेल चल्छ ।”

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्मको ६९ किलोमिटरमध्ये महोत्तरीतर्फ ३३ किलोमिटर, धनुषामा ३४ किलोमिटर र भारततर्फ करिब दुई किलोमिटर पर्छ ।

पहिलो खण्डसँगै धनुषातर्फ अब काम हुन करीब दुई किलोमिटर र महोत्तरीको ३३ किमिसहित ३५ किलोमिटरमा काम बाँकी छ ।

महोत्तरीतर्फको भङ्गाहासम्म माटो सम्याउने, पुलपुलेसा बनाउने र स्टेशन घर निर्माणका काम अन्तिम चरणमा छन् । तर, ग्रेवल ओछ्याउने र लिक राख्ने मुख्य काम थालिएकै छैन ।

अहिलेको गतिले दोस्रो खण्डको काम सन् २०१९ भित्रैैैैै सकिनेमा रेल विभागका प्राविधिक नै पनि ढुक्क छैनन् । तर, महानिर्देशक मिश्र भने निर्माण सामग्री तयार भएको हुँदा दोस्रो खण्डको काम अब तीव्र गतिमा अघि बढ्ने बताउँछन् ।

यता भङ्गाहाबाट बर्दिवाससम्मको १८ किमी दूरीभित्र भने अझै मुआब्जा विवाद नसुल्झेपछि काम अघि बढ्न सकेको छैन ।

पछिल्लो पटक गत असारमा यस खण्डभित्रको भङ्गाहाभित्रको २२ बिघा र बर्दिवास–६ र ७ (साविक किसाननगर गाविस) को २६ बिघा क्षेफलको मुआब्जा दिइने रकम जिल्ला प्रशासन र रेल विभागले टुङ्ग्याए पनि आम सर्वसाधारणले भने मुआब्जा बुझ्न थालेका छैनन् ।

यसै खण्डको हाल मिथिला नगरपालिका–१० र ११ (साविक बेङ्गाडावर गाविस, धनुषा)को २६ बिघा र साविक बर्दिवास गाविस क्षेत्रको ५३ बिघा क्षेत्रफलको भने मुआब्जा तोकिन नै बाँकी छ ।

बेङ्गाडावर र बर्दिवासको मुआब्जा तोक्न भएको ढिलाइले निर्माण काम अघि बढाउन अझै सकिएको छैन ।

बर्दिवासका जग्गाधनीहरुले आपूmहरुले मुआब्जा तोक्ने कुरामा कुनै झिँजो वा अप्ठ्यारो नपारेको बताउँदै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्