सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सको आग्रह

काठमाडौं , भदौ १८ । सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सले आग्रह गरेको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको छ ।

‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ,’ नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेप्सले आफ्नो सिस्टमले अन्तर्रा्ष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।

हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ ।

साथै यस विषयमा सरोकारवालाहरुसँग छलफल जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।केहि दिन अगाडि ५ जना चिनायाँ नागरिकले एटिएमबाट पैसा चोरेका थिए । चोरहरु पक्राउ समेत परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्