पछिल्लो समय डेङ्गु रोगको संक्रमण बढ्दै, निःशुल्क उपचार गर्न निर्देशन

काठमाण्डौ , भदौ १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ ।

पछिल्लो समय काठमाण्डौलगायत देशभर डेङ्गु रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले मंगलबार यो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना डेङ्गु रोगका बिरामी उपचारत छन् ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालको मंगलबार निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिनुभयो ।

उहाँले डेङ्गु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिनुभएको थियो । अस्पतालमा मंगलबार मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिनुभयो । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।

उहाँले भन्नुभयो, “अस्पतालले आजदेखि छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न सुरु गरेका छौँ ।”

यही अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेङ्गु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्