प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार मात्रै पूरा हुने, स्वास्थ्य अवस्था भने यस्तो छ
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार (भोलि) छैठौं र बुधबार सातौं चरणको ‘प्लाजा फेरेसिस’ प्रक्रिया सम्पन्न भएपछि उपचार पूरा हुनेछ । प्रधानमन्त्री ओली हाल सिंगापुरमा उपचाररत छन् ।
उपचारका क्रममा ‘प्लाजा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीसँगै रहेका उनका नीजि चिकित्सक डा.दीलिप शर्मालाई उद्धृत गर्दै अर्यालले जनाएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ ।
आइतबार उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’
यसअघि शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले पनि आगामी बुधबार अन्तिम चरणको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्