बैंक तथा वित्तीय संस्थामा प्रविधिको जोखिम बढ्दै, प्रमुख प्रहरी सुवेदीले भने – प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्थ्यो

काठमाण्डौ, भदौ १५ । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्ने बताएका छन् ।

प्रहरीले तत्कालै कदम चालेकोले ठूलो रकम लुटिनबाट जोगिएको उनले बताए । । जहिले पनि प्रविधिभन्दा ह्याकर अघि रहने भएकाले चुनौती थपिएको पनि प्रहरीले जनाएको छ ।

केही विदेशीहरु नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि नेपाल आउने गरेको पनि उनले जानकारी दिऐ ।

प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको पनि जनाएको छ ।
महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा प्रहरीले यस्तो सुरक्षा चुनौती थपिएको बताएको हो ।

शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा चुनौती थपेको जनाएको हो ।

शनिबार सोह्रखुट्टेको एक एटीएमबाट अस्वभाविक पैसा झिकिएको जानकारी आएपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो । सुरुमा एकजना पक्राउ गरिएको र उनीमार्फत जयनेपाल हल नजिकैको होटलमा बसेका अन्य पाँच जनालाई पक्राउ गरिएको सुवेदीले बताए ।

उनीहरुको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाल बैंकर्स संघले लुटिएको रकमलाई लिएर निक्षेपकर्तालाई नआत्तिन सुझाव दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सबै बचतकर्ताको पैसा सुरक्षित रहेको बताए । विदेशमा नेपालीले चलाइरहेका केही कार्डबाट पनि पैसा झिकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्