बैंकिङ सिस्टम ह्याक, सेवाग्राही मर्कामा, यी हुन् नेपाली एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिक
काठमाडौं , भदौ १५ । नेपाली एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गर्दैछ ।
उनीहरु शनिबार मध्यरातमा दरबारमार्ग्स्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबिच शनिबार राति विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार सार्वजनिक भएपछि सर्वसाधारण आतंकित भएका छन्। कतै आफ्नो खाताबाट पनि रकम हराएको त छैन भन्ने डर सर्वसाधारणमा छ।
तर, राष्ट्र बैंकले भने कुनै पनि खाताबाट रकम नझिकिएको जनाएको छ। साथै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘केही बैंकको एटिएमको सिस्टममा समस्या आएको छ, एटिएमबाट पैसा निकाल्न मिलेको छैन । तर, कुनै पनि बैंक खाताबाट गैह्र कानुनी रुपमा पैसा निकालिएको छैन।’
ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे। एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ। सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन्। प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो । यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन।
यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्ग्स्थित एक होटलबाट पक्राउ गरेको हो।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ।
नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो।
प्रतिक्रिया दिनुहोस्