भक्तपुरमा पनि १२ जनामा डेङ्गु संक्रमण भेटियो

काठमाडौं, भदौ १५ । भक्तपुरमा १२ जनामा डेङ्गु संक्रमण फेला परेको छ । देशभरी फैलिँदै गएको डेङ्गुको असर भक्तपुर जिल्लामा पनि फेला परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यसवर्ष चार दोबर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको बताए ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको उनले बताए । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रविभूषण सुवालले जनाकारी दिए । यहाँ डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गतवर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यसवर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको छ ।

कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहोर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यति बेला विभिन्न जिल्लामा डेगुंको सक्रमण फैलिएको छ । नियन्त्रण गर्न सरकार भने यसमा असफल भएको कतिपयएको भनाइ पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्