छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने मन्त्री भट्टराईको चेतावनी

काठमाण्डौ, भदौ १५। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन् । कार्यालय समयमा धेरै जसोले फोनमा समेत संवाद गर्ने हुनाले सचेत गराएका हुन् ।

मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट समेत पारे ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको जानकारी गराउँदै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटीभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले विमानस्थल देशको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु अनुशासित हुनुपर्नेमा जोड दिए ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन यो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

उनले ६ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे ।


प्रशिक्षण कार्यक्रममा विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरुको सहभागी रहेको छ । यसरी कार्यालय समयमा कर्मचानरीले मोबाइल चलाउन थालेपछि मन्त्रीले यस्तो योजना थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्