रातारात नेपालगञ्ज फिर्ता पठाइयो सुर्खेतको जंगलमा छाडिएका गाई , ७ जना नियन्त्रणमा लिई अनुसन्धान शुरु
काठमाडौं, भदौ १४ । रातारात सुर्खेतको जंगलमा छाडिएका गाई नेपालगञ्ज फिर्ता ल्याइएको छ ।
दैलेख लैजाने भनी रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ ल्याएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई आजदेखि स्थानीय प्रशासनको समन्वयमा नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने जनाकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको सङ्ख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए–नभएको यकिन हुने प्रहरीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो ।
यसैबिच सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सात जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकेको छ । मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षी सम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ ।
अपराधसंहिताको उक्त कसुर अन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ । यसैबिच गौहत्या गरेकालाई कडा कारवाही गर्न माग गरिएको छ ।
मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षी सम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान रहेको छ तर यसरी खुलमखुल्ला गौहत्या गर्नेलाई त्यसै नछोड् भनि चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्